(१) नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशित गरी सोही सूचनामा तोकिएको कुनै विमानस्थलको तोकिएको क्षेत्रलाई निषिद्ध क्षेत्र घोषित गर्न सक्नेछ र त्यसरी घोषित भएपछि सो निषिद्ध क्षेत्रको वरिपरि सर्वसाधारणको आवागमन हुने मुख्य मुख्य ठाउँमा त्यस्तो सूचना प्रदर्शन गरी राख्ने जिम्मेवारी सम्बन्धित विमानस्थलको प्रमुख अधिकारी हुनेछ ।
(२) सम्बन्धित विमानस्थलको प्रमुख अधिकारीले उचित ठहराई कुनै समयमा केही अवधिको लागि त्यस्तो क्षेत्रभित्र सर्वसाधारणलाई आवागमन गर्न दिने सूचना प्रदर्शन गरेको भए यस उपदफाको प्रयोजनको लागि सो समयमा त्यस्तो निषिद्ध क्षेत्रभित्र प्रवेश गर्न इजाजत प्राप्त भएको मानिनेछ ।
(३) उपदफा (२) को विपरित निषिद्ध क्षेत्रभित्र प्रवेश गर्ने व्यक्तिलाई सम्बन्धित विमानस्थलको प्रमुख अधिकारीको आदेशले दुईसय रूपैयाँसम्म जरिवाना हुन सक्नेछ ।
१०ख. यात्रु वा अरू कुनै व्यक्तिको शरीर वा मालसामानको खानतलासी लिने ः (१) दफा ९क. अन्तर्गतका अपराध हुनबाट बचाउ गर्नको लागि कुनै विमानस्थलको प्रमुख अधिकारी वा सो कामको लागि अख्तियार प्राप्त कर्मचारी वा प्रहरी वा सुरक्षा अधिकारीले उडानको लागि तैयार भएको कुनै वायुयानमा चढ्नु अगाडि वा चढी सकेपछि यात्रुहरूका शरीर र तिनका मानसामानको खानतलासी लिन सक्नेछ र त्यस्तो खानतलासी लिंदा कुनै बैज्ञानिक साधन र उपकरणको पनि प्रयोग गर्न सकिनेछ ।
यस्तो खानतलासी सो वायुयानको चालकहरू र सो उडानको व्यवस्था गर्ने प्रयोजनको लागि वायुयानमा चढ्ने वा सो छेउ जाने सो हवाई यातायात सेवाका अधिकारीहरू लगायत सबै कामदारहरूको पनि गर्न सकिनेछ ।
(२) उपदफा (१) बमोजिम खानतलासी गराउनबाट इन्कार गर्ने यात्रु वा व्यक्तिलाई सो वायुयानमा चढ्न वा सो छेउ जान नदिन सकिनेछ ।
(३) उपदफा (१) बमोजिम यात्रुहरू र चालकहरूको खानतलासी गर्दा कुनै बन्दुक (सबै प्रकारको) सक्कली बन्दुक जस्तो देखिने वा भ्रम पर्ने नक्कली बन्दुक बाहेक अन्य घातक हतियार (तरवार, खुकुरी, छुरा लगायत) वा विष्फोटक पदार्थ (बम, ग्रिनेड, गोली, बारूद लगायत) बरामद भएमा देहाय बमोजिम गर्नुपर्छः–
(क) त्यस्तो बन्दुक वा विष्फोटक पदार्थ अवैध भए सो यात्रु वा व्यक्तिलाई रोकी कानुनी कारवाहीको लागि प्रहरी जिम्मा लगाई दिने ।
(ख) यस्तो बन्दुक नक्कली बन्दुक, अन्य घातक हतियार वा बिष्फोटक पदार्थ अवैध नभए पनि सोधपूछ गर्दा पनि जानकारी नदिई लुकाई छिपाई राख्ने वा लग्ने प्रयत्न गरेकोमा विमानस्थलको प्रमुख अधिकारी वा सो कामको लागि अख्तियार प्राप्त कर्मचारी वा प्रहरी वा सुरक्षा अधिकारीले उचित ठहराए बमोजिम सो सक्कली वा नक्कली बन्दुक, घातक हतियार वा बिष्फोटक पदार्थलाई वायुयानको प्रमुख चालक (कमाण्डर) जिम्मा लगाई पठाउन वा त्यसलाई रोकी सो यात्रु वा चालकलाई मात्र जान दिन वा सो यात्रु वा चालकलाई समेत रोकी आवश्यक जाँचबुझ गरी कुनै अपराधिक मनसाय नदेखिएको कुरामा आफू सन्तुष्ट भएमा मात्र सो यात्रु वा चालकलाई जान वा सो बन्दुक हतियार विष्फोटक पदार्थ लैजान दिनेछ ।
(४) कुनै व्यक्तिले दफा ९क. अन्तर्गतको वा अन्य प्रचलित नेपाल कानुन अन्तर्गतको फौज्दारी अपराध गर्ने हेतुले कुनै प्रकारको बन्दुक, नक्कली बन्दुक, घातक हतियार वा विष्फोटक पदार्थ लिई विमानस्थल वा त्यसको कुनै निषिद्ध क्षेत्रभित्र प्रवेश गरेको छ वा गर्न लागेको छ भन्ने जानकारी प्राप्त भएमा वा शंका गर्नु पर्ने कारण भएमा विमानस्थलको प्रमुख अधिकारी वा निजबाट त्यस कामको लागि अख्तियार प्राप्त कर्मचारी वा सुरक्षा अधिकारी वा विमानस्थलको सुरक्षाको लागि तैनाथ गरिएको प्रहरी वा सैनिक अधिकारीले विना वारेण्ट त्यस्ता व्यक्तिको शरीर र निजको साथमा रहेको मालसामानको खानतलासी लिन सक्नेछ र त्यस्तो बन्दुक, अन्य हतियार वा विष्फोटक पदार्थ बरामद भएमा आवश्यक जाँचबुझ गरी कारवाही गर्न प्रहरी जिम्मा लगाई दिनेछ ।
(५) आफ्नोे कर्तव्य पालनको सिलसिलामा कुनै कर्मचारीले असल नियतले कसैलाई यो दफा बमोजिम वायुयानमा चढ्न वा सो छेउ वा विमानस्थलको कुनै निषिद्ध क्षेत्रमा कसैलाई जान नदिंदा वा रोक्दा वायुयानको उडान समयमा ढिलाई भएमा वा कुनै क्षति भएमा पनि त्यसको लागि सो कर्मचारीको कसैप्रति कुनै कानुनी दायित्व हुने छैन ।
स्पष्टीकरण ः यस दफाको प्रयोजनको लागि “चालकहरू” भन्नाले फ्लाइट इन्जिनियर, रेडियो अफिसर, फ्लाइट नेभिगेटर, एयर होस्टेज, केविन एटेण्डेण्ट र पर्सरलाई समेत जनाउनेछ ।